१९ जेष्ठ, २०७६
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
वरिष्ठ नेता पौडेलले दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई तर्साउने, पत्रकारहरुलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्थालाई अंकुश लगाउने काम गरेर जनमतको दूरुपयोग गरिरहेको आरोप लगाएका हन् । आईतबार काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश, परिवर्तन र आन्दोलनको भावना विपरितका गतिविधि गरिरहेकाले आफ्नो पार्टीले सरकारको विरोध गर्नु परेको पनि स्पष्ट पारे ।
वरिष्ठ नेता पौडेलले लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा आफ्नो पार्टीले कम्युनिष्ट नेतृत्वको सरकारको विरोध गरेको आरोप खेप्नु परेको गुनासो पनि गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा पूर्णत असफल भएको दावी गरेका छन् । ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने आफ्नै नारा विपरित सरकारले गतिविधि गरिरहेको महासचिव मैनालीको निष्कर्ष छ ।
महासचिव मैनालीले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकप्रति पनि आपत्ति जनाएका छन् ।