२३ जेष्ठ, २०७६
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकि छिन् ।
प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमाथिको छलफलमा सहभागि हुदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठुलो अवसर भएपनि बजेट बरालिएर आएको बताएकि छिन् । पूँजीगत खर्च देखेर आफुहरुलाई निरास बनाएको भन्दै उनले कार्यकर्तालाई, नेतालाई खुसी पार्नका लागि बजेट दुरुपयोग हुन सक्ने आशंका गरिन् । विगतमा श्री ३ को र श्री ५ को बाहुलीमा रकम चढाए जस्तै गरि प्रधानमन्त्रीको कार्यालयलाई रकम चढाउने ढंगले अत्यन्तै वितरणमुखी बजेट आएको दाबी उनले गरिन् ।
तात्कालिन प्रधानामन्त्री विपि कोइरालाले मुलुकको आर्थिक नीति बनाउने क्रममा ‘म मेरो नेपाली जनतालाई १५ बर्षमा म जत्तिकै बनाउँछु’ भनेर उद्घोष गरेको स्मरण गर्दे उनले अर्थमन्त्रीलाई प्रश्न गरिन्, “आज म अर्थमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु । अर्थमन्त्री ज्यू, आफ्नो क्षमता, आफ्नो योग्यता, आफू जस्तै नेपाली जनतालाई कहिले बनाउने ? यस्तो बरालिएको बजेटले नेपाली जनतालाई अर्थमन्त्री जत्तिको बनाउन सक्दैन ।”
उनले संघीयता विरोधी बजेट आएको भन्दै संसोधनको माग गरेकि छिन् । उनले बजेट संघीयता विरोधी भएको , बजेटले प्रदेशको उन्नति र सम्मृद्धि भन्दा सिंहदरबारको सम्मृद्धि र केन्द्रको सम्मृद्धि तफै आँखा लगाएको टिप्पणी पनि गरिन् ।
नेपाली कांग्रेसको सरकारको समयमा धेरै युवाहरु विदेश गए भन्ने भनाईमा सत्यता नभएको भन्दै उनले तथ्यांक हेर्न आग्रह गरेकि छिन् । उनले नेपाली कांग्रेसको सरकारको समयमा मुलुकभित्र धेरै रोजगारी श्रृजना भएको दाबी समेत गरिन् ।