२८ जेष्ठ २०७६ विराटनगर :विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण भेटिएको छ । महानगर भित्र २ जनामा डेंगुको संक्रमण देखिएको छ ।
विराटनगर महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनका अनुसार विराटनगरको वडा नम्बर १ पुष्पलाल चौक र वडा नम्बर ३ मा घर भएका व्यक्तिलाई डेंगु पुष्टि भएको छ । डेंगु संक्रमितहरुको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । योञ्जनले विराटनगर महानगरपालिका भित्र डेगु देखिएपछि सचेतनाका साथ विज्ञ सहितको टोलीले डेगु पहिचान गर्ने र नियन्त्रण गर्ने अभियान सुरु गरिएको बताइन् ।
यसैबीच विराटनगर महानगरपालिका भित्र डेंगु नियन्त्रणका लागि बुधबारदेखि मालाथिन फगी स्प्रे सुरु गर्ने तयारी गरिएको महानगरले जनाएको छ । महानगरले सवै वडामा जेठ २९ गतेदेखि असार ४ गतेसम्म मालाथिन फगी स्प्रे गर्ने कार्यक्रम तय गरेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएकाले त्यस समय खाने कुरा छोपेर राख्न पनि महानगरले आग्रह गरेको छ । डेंगु सक्रमित लामखुट्टेले दिउसो मात्र टोक्ने गर्दछ ।