बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी ओलीले बेलायतकी प्रधानमन्त्री टेरिसा मेसँग भेटवार्ता गरेका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा ओली र मेबीच करिब आधा घण्टा कुराकानी भएको हो ।
सत्तारुढ पार्टीको नेतृको रुपमा राजीनामा गरिसक्नु भएकी प्रधानमन्त्री मे अहिले बहिर्गमनको तयारीमा छिन् । भेटमा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मेसँग गोर्खाको समस्या समाधानको लागि पहल गर्न आग्रह गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन । गोर्खा भर्तीसम्बन्धी बेलायत, भारत र नेपालको बीचमा भएको त्रिपक्षीय सन्धिमा पुनरावलोकन हुनुपर्ने धारणा प्रधानमन्त्रीले राखेको बताइएको छ । त्यस्तै, दुई सय वर्ष पुरानो कूटनीतिक मित्र बेलायतबाट अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्रीलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् ।
यसैबीच लन्डनमा प्रधानमन्त्री ओलीले राजकुमार ह्यारीसँग पनि भेटवार्ता गरेका छन । प्रधानमन्त्री ओलीले ह्यारीलाई पुनः नेपाल भ्रमणको निमन्त्रणा दिँदै नेपालप्रति बेलायतको राजपरिवारले देखाउँदै आएको सद्भावको प्रशंसा गरेको बताइएको छ ।