१ असार, काठमाडौं । सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै सांसद खतिवडाले गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीचको दुरी फराकिलो बन्दै गएकाले वार्ताका लागि निर्णायक भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् । उनले नेपालको हरेक राजनीतिक परिर्वतनमा उपत्यकाले निर्णायक रोल खेलेको भन्दै सरकार र आन्दोलकारीलाई एकै ठाउमा बोलाएर वार्ता गर्ने वातावरण बनाउनका लागि हस्तक्षेपकारी भुमिका खेल्न सभामुखको ध्यानाकर्षण गराए । शुन्य समयमा बोल्ने अधिकांश सांसदले गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद सत्यनारायण शर्मा खनालले भुमाफिया र नेपाली संस्कृति विरोधीको वहकाउमा उचालिएर सरकारले गुठी विधेयक ल्याएको भन्दै जनविरोधी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद शान्तिमाया तामाङ पाख्रिनले लोकसेवा आयोगको विभेदकारी विज्ञापन संविधानको मुल्य र मान्यता विपरित भएको भन्दै आगामी दिनमा नवअधिनायवादीको शैली नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए । उनले विज्ञापन खारेज गरी संविधान अनुसार समानुपातिक समावेशी व्यवस्था अनुसार विज्ञापन गर्न आग्रह गरे ।
सांसद सिता देवी यादवले लोकसेवा आयोगको विज्ञापनलाई सच्याई समावेशी र समानुपातिक बनाएर प्रकाशन गर्न माग गरे । उनले सरकारले आफैले बनाएको संविधान मिच्ने काम गरेको आरोप लगाए ।
बहादुरसिंह लामाले संविधानको वर्खिलापमा रहेकाले लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गरे । सांसद लक्ष्मी परियाले राष्ट्रिय दलित आयोगको पदाधिकारी चयनमा ढिलाई भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद विना कुमारी श्रेष्ठले घरेलु श्रमिकमा श्रम ऐन कार्यान्वयन हुन नसकेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउए ।
सांसद विन्दा पाण्डेले घरेलु श्रमिकलाई दर्ता गर्ने र न्युनतम पारिश्रमिक र सेवा सुविधा लागु गर्ने काम तुरुन्तै गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद समीना हुसेनले बालविवाह बढ्दै गएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।