१० असार, विराटनगर ।
मोरङको जहदा गाउँपालिकाले आर्थिकबर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
मंगलबार आयोजित पाँचौ गांउसभामा सो गांउपालिकाको तेश्रोबर्षका लागि ३७ करोड ७१ लाख ५३ हजार २ सय २६ रुपैयाको बजेट सार्वजनिक गरिएको हो । कटहरी गांउपालिकास्थित जीवन विकासको सभाहलमा आयोजित कार्यक्रमकाबीच गांउपालिकाका प्रवक्ता एवम वडानम्बर ३ का वडाध्यक्ष अनिल ठाकुरले कार्यपालिकाबाट पारित बजेट पुस्तिका वाचन गरे । आगामी आर्थिकबर्षकालागि बिनियोजन गरिएको बजेटमा भौतिक पुर्वाधार र शिक्षालाई प्राथमिकतामा राखिएको गांउपालिकाका उपाध्यक्ष सालोदेवी साहले बताईन् ।
आर्थिकबर्ष २०७६÷७७ का लागि भौतिकपुर्वाधारमा कुल बजेटको ३७ प्रतिसत अर्थात १० करोड ४० लाख ६० हजार २ सय १४ रुपैया विनियोजन गरिएको छ यस्तै शिक्षामा कुल बजेटको ६.९४ प्रतिसत अर्थात १ करोड ९० लाख,स्वास्थ्यमा २.९६ प्रतिसत अर्थात ८१ लाख ३० हजार ३ सय बजेट विनियोजन गरिएको छ । यसैगरि कृषिमा २.९५ प्रतिसत अर्थात ८१ लाख २४ हजार २ सय ५ र सिंचाईमा २.३ प्रतिसत अर्थात ६५ लाख बिनियोजन गरिएको छ । नयां बजेटमा पाठेघरको शल्यक्रिया गराउने महिलाहरुलाई अनुदान वापत ५ हजार र मोतियाबिन्दुको शल्यक्रिया गराउने विरामीलाई २ हजार अनुदान वापत प्रदान गर्नेगरि नयां कार्यक्रम राखिएको जनाइएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासदस्य जयराम यादवले कर बढाउनुभन्दापनि करको दायरा बढाउने लक्ष्य सहित ल्याइएको बजेट उपयुक्त रहेको बताए । उनंले आन्तरिक श्रोतलाई सबल बनाउन करको दायरा बढाएर जनतालाई कर तिर्न प्रेरीत गर्ने उद्धेश्य सराहनीय रहेको धारणा ब्यक्त गरे ।
गांउपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले यसअघि सिफारिस र जग्गा कर मात्र लिदै आएकोमा आउदो आर्थिकबर्षदेखि पटके कर निर्धारण गरिएको बताए । उनले पटके करबाट संकलित रकम सडकको मर्मत सम्भारमा खर्च गरिने बताए ।