१४ असार, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गरेका छन् । मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले राजनीतिक हत्या प्रतिहत्याका दोषिलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताएका हुन् ।
मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भएपनि आज सम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोलि पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत उनले गरेका छन् । नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दे उनले ठूला ठूला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिले सम्म सफल हुन नसकेको बताए । मदन भण्डारी हत्या, उनका चालकको हत्या अनि दरबारहत्याकाण्ड भईसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको तर्फ गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
उनले राजाविरुद्ध बोल्न सक्ने र बैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडठाडै लल्कार्न सक्ने हैसियत राख्न सक्ने नेता पनि भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाईन गरेको हो भनेर बुझ्न गाह्रो नभएपनि हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना हुन सक्ने आंशका गरे । उनले जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामूहिक मेहनत नभए दुई नेता असफल हुने खतरा तर्फ जान सक्ने संकेत गरे ।
पार्टी सुदृढ गर्दै सरकारलाई सफल पार्ने र जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै उनले त्यसले सिंगो मुलुकको प्रणालीनै खतरामा पर्ने संकेत गरे । उनले सबैखाले पुर्वाग्रह र संकिर्णता माथि बिजय हासिल गर्दै देश काल परिस्थितिको माग अनुसार मिल्न सक्ने जति सबै मिलाएर अघि बढ्ने संकल्प गर्नुपर्ने र यही पाठ नै मदन भण्डारीबाट सिक्नुपर्ने बताए ।