विराटनगर, माघ १३
ग्रेडिङ प्रणाली प्रति असन्तुष्टि जनाउँदै झापा भद्रपुरका विद्यार्थीहरुले शुक्रवार जिल्ला शिक्षा कार्यालय झापामा तालाबन्दी गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षाफल ग्रेडिङ प्रणाली पद्धतिबाट लागु गरेको प्रति असन्तुष्ट जनाउँदै त्यसको विरोधमा वीरेन्द्र, एमरेल्ड एकाडेमी र विभुती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले एक घण्टा शिक्षा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वीरन्द्र क्याम्पसमा भेला भएका विद्यार्थीहरु ग्रेडिङ प्रणाली विरुद्ध नाराबाजी गर्दै विहान १० बजे शिक्षा कार्यालय परिसर पुगेका थिए । शिक्षा कार्यालय पुगेका विद्यार्थी समूहले कार्यालयको मुल गेटमा तालाबन्दी गरेका थिए ।
विद्यार्थी समूहले शिक्षा कार्यालय घेराउ गरेपछि प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विद्यार्थीहरुलाई मुल गेट भन्दा बाहिर निकालेको थियो । विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेका थिए ।
कार्यायलमा तालाबन्दी गरेको भन्दै यता प्रहरीले विरोध कार्यक्रमको नेतृत्व गर्ने नेवि संघ वीरेन्द्र क्याम्पस इकाइ समितिका सभापति अनुप अधिकारी, सचिव प्रकाश भण्डारी, निकेश श्रेष्ठ र मनोहर गौतमलाई नियन्त्रणमा लिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली पद्धित अनुसार कुनै बिषयमा ‘डी प्लस’ ल्याए पुनः मौका परीक्षा दिने व्यवस्था छ । तर, एक बिषय भन्दा बढिमा ‘डी प्लस’ ल्याए अर्को बर्षको परीक्षामा सहभागी हुन पाउने व्यवस्थाप्रति विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् ।