इटहरी, माघ १८
सिएफएल बल्व खरिद प्रकरणमा आर्थिक अनियमिता गर्नेहरुलाई कारबाहीको माग राख्दै नेपाली काँग्रेस इटहरीले इटहरी उपमहानगरपालिकाको मुल गेटमा एक घण्टा धर्ना दिएको छ ।
सिएफएल बल्व खरिदमा आर्थिक अनियमितता भएको प्रतिवेदन उपमहानगरपालिकाले बनाएको छानबिन समितिले समेत ठहर गरे पनि कारवाही नगरिएको भन्दै काग्रेसले दोषीलाई कारबाहीको माग राख्दै धर्ना दिएको हो ।
कांग्रेस नगर समिति इटहरीले उपमहानगरपालिकाको मुलगेटमा बिहान १० देखि ११ बजे सम्म धर्ना दिएको हो । कांग्रेसले सिएफएल प्रकरणका दोषीलाई कारबाही नगरेसम्ममा चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यसअघि इटहरी कांग्रेसले दोषीलाई कारवाही गर्न ७ दिने अल्टिमेटमसमेत दिइसकेको थियो । धर्नामा नगर सभापति हेमकर्ण पौडेल, सचिव प्रकाश बस्नेत, विजय खत्री, शिवराज दहाल, केवश सिटौला, दिपक ढकाल, विमला ढकाललगायतका नेताहरुको सहभागिता थियो ।
इटहरी उपमहानगरपालिकाले गत साउनदेखि कात्तिकसम्म सिएफएल बल्व तथा सेट खरिदमा आर्थिक अनियमितता भएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।