९ समाज, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम, कार्वाहीलाई अझै प्रभावकारी बनाएर लैजाने संकल्प गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष दाहालले पार्टी एकतालाई सदृढ बनाउन र सरकारको काम, कार्वाहीलाई अझ प्रभावकारी बनाउन संकल्प गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति सभामा बोल्दै उनले पार्टी संगठन र सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाएर नेपालमा समाजवादको विकास गरी दुनियाँलाई एउटा नयाँ मोडल दिने संकल्प गर्नुपर्ने पनि स्पष्ट पारे । अध्यक्ष दाहालले सरकारको कामलाई अझ प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिइएको पनि दावी गरे ।
अध्यक्ष दाहालले दुई पार्टीबीच एकता गरेर असाधारण उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसबारे जनतालाई जानकारी गराउन आगामी भदौबाट राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गरेका छन् । त्यसका लागि आवश्यक योजना तय गर्न साउन महिना भित्रै पार्टी केन्द्रिय समिति र स्थायी समिति बैठक बोलाउने अध्यक्ष दाहालको योजना छ । अध्यक्ष दाहालले पार्टीको राष्ट्रिय अभियानको क्रममा पार्टीका नीति तथा कार्यक्रम र सरकारको कामकार्वाहीबारे जनतालाई जानकारी गराउने पनि स्पष्ट पारे । उनले सामाजिक न्याय सहितको समृद्धिका लागि आफ्नो पार्टीले काम गरिरहेको दावी पनि गरेका छन् ।