१२ साउन, काठमाडौं ।
विश्वकप छनौटका लागि सिंगापुर पुगेको नेपाली क्रिकेट टिमले दोहोरो पीडा भोग्नु परेको छ ।आयोजक सिंगापुरसँग ८२ रनले हारेपछि टी–२० विश्वकपको ग्लोबल छनोटमा नसक्नुको पीडा त थियो नै आयोजकको गल्तीले अर्को झड्का त्यसबेला लाग्यो, जब उपविजेताको पदक खोसियो ।
आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो । सुरुमा अविनाश बोहोरा गए, त्यसपछि कप्तान पारस खड्का । अरुले पालैपालो उपविजेताको मेडल लगाए ।
त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई मेडल दिइयो । सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले । जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो ।फेरी कतारलाई उपविजेता घोषणा गरियो । समान ४–४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरियो ।
नेपाली खेलाडीहरुको मेडल टिम म्यानेजर रमन सिवाकोटीले एकमुष्ट फिर्ता गरेका छन् । प्रतियोगिताको उपविजेता कतार नै हो । तर सुरुमा हतारमा नेपाललाई उपविजेता घोषणा गर्दै खेलाडीलाई मेडल लगाउनु आयोजकको गल्ती थियो । आयोजकले गल्ती विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेको पीडामा रहेका नेपाली खेलाडीहरुलाई आलो घाउमा नुनचुक छरे जस्तै भयो ।