किशोर विश्वकर्मा
विराटनगर, माघ २१
सोमबार विराटनगरमा हुन गईरहेको प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक जिल्ला समन्वय समितिको कार्यालय मोरङको सभाहलमा बसेपनि जिससले गर्ने सेवा प्रवाहमा कुनै असर नपर्ने जनाइएको छ ।
जिल्ला समन्वय समिति मोरङले पत्रकार सम्मेलन आयोजना गरेर आफुहरुले जनतालाई प्रदान गर्ने सेवा सुविधामा कुनै असर नपर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जिल्ला समन्वय समिति जनता सँग प्रत्यक्ष जोडिएकाले प्रदेसभाको वैठक बसेपनि जनतालाई कुनै कठिनाई नहुने दावी गरे ।
उनले प्रदेशसभाको वैठकका लागि विषेश सुरक्षा व्यवस्था मिलाएकाले जिल्ला समन्वय समितिका सेवाग्राहीलाई सुरक्षा निकायले चेकजाँच लगायतका कार्यहरु गर्न सक्ने भएकाले त्यसका लागि छुट्टै व्यवस्था मिलाइएको जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख पोखरेलले प्रदेशसभाको बैठकको तयारिका लागि जिल्ला समन्वय समितिले विभिन्न निकाय सँग साहजिकरण गरेको समेत बताए ।
उनले प्रदेशसभा बैठकका लागि आफुहरुलाई जिल्ला समन्वय मितिलाई सरकारले सभाहल उपलब्ध गराउन आग्रह गरेकाले कार्यालयका काम कारवाही र ऐतिहासिक दस्तावेजहरु संरक्षणमा कुनै असर नपर्ने गरि प्रदेशसभा बैठक सञ्चालनका लागि भुईँतल्ला र त्यहाँका फर्निचरहरु अस्थायी रुपमा निशुल्क उपयोग गर्न दिइएको समेत जानकारी दिए ।
पोखरेलले प्रदेशसभाको बैठकमा उपस्थित हुने सांसदहरुको स्वागतका लागि जिल्ला समन्वय समितिले विषेश व्यवस्था मिलाएकोसमेत जानकारी दिए । १ नं. प्रदेशको प्रदेशसभाको पहिलो बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा बस्दैछ । यसैबिच बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । प्रदेससभाको बैठकको तयारीका लागि पूर्व अभ्यास समेत गराईएको छ ।