भदौ ११, भोजपुर । भोजपुर नगरपालिका–१२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ को मानेभञ्याङ जोड्ने निर्माणाधिन पक्की पुल नजिक राखिएको एक्स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।
मंगलबार राति अज्ञात समूहले पुल निर्माण स्थलमा राखिएको मार्सेली निर्माण सेवाको एक्स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीले त्यही ठाउँमा शंकास्पद वस्तु पनि फेला पारेको जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मीहरु परिचालन गरिएको र नेपाली सेनाको विज्ञ टोली आएपछि शंकास्पद बस्तुलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ ।
पिखुला खोलामा प्रदेश सरकारको ६ करोड ५३ लाख रुपैयाँको लागतमा झण्डै एक हप्ता अगाडि पुल निर्माणको काम सुुरु भएको थियो । एक्स्काभेटरमा आगजनी गर्ने समूहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।