कुन मोडमा पुग्यो एमाले-माओवादी एकता वार्ता ?

२८ माघ ७४, सोमबार

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Advertisement

चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए । काठमाडौं फर्किएपछि एमाले अध्यक्ष ओलीसँग निर्णायक छलफल हुने भन्दै उनले छिटै एकता प्रक्रिया टुंगोमा पुग्ने संकेत गरे ।

‘म काठमाडौं गएपछि ओलीजीसँग कुराकानी हुन्छ । मेरो चाहना छ, दुई–तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस्,’ प्रचण्डले भने, ‘पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।’

Advertisement

एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्‍याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर चल्दै आएको ‘वान अन वान’ छलफल अल्झिएपछि एमाले नेताहरूले नयाँ मोडालिटीका आधारमा छलफललाई टुंगोमा पुर्‍याउने निष्कर्ष निकालेका हुन् ।

Advertisement

१७ असोजमा एकता घोषणापछि दुवै पार्टीका अध्यक्षबीच दुई दर्जनभन्दा बढी भेटघाट र छलफल भइसकेको छ । पछिल्लोपटक २५ माघमा ललितपुरको मानभवनस्थित एक घरमा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछिको नेतृत्व टुंगो लगाएर एकतालाई निर्णायक मोड दिनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रचण्डको प्रस्तावपछि आन्तरिक परामर्श गरेर एकता संयोजन समितिको बैठकबाट वार्तालाई नयाँ मोड दिने समझदारीसहित दुवै नेता उठेका थिए । भोलिपल्टै चितवन पुगेका प्रचण्ड आइतबारसम्म विभिन्न कार्यक्रममा व्यस्त रहे भने ओली प्रदेश सभा संसदीय दलको निर्वाचन, आन्तरिक परामर्श, स्थायी समिति बैठक र अन्य कार्यक्रममा व्यस्त बने ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले अहिले जुन किसिमबाट हिँडिरहेको छु, त्यसबाट देश र जनतालाई फाइदा नपुग्ने लाग्यो भने आफूले तत्काल फड्को मार्न सक्ने अभिव्यक्ति दिएपछि कतिपयले त्यसलाई एकता नहुने नकारात्मक अर्थमा टिप्पणी गरे ।

प्रचण्डले अभिव्यक्ति दिएको केही घन्टाकै फरकमा ओलीनिवास बालकोटमा एमाले शीर्ष नेताहरू छलफलमा जुटे । प्रचण्डको अभिव्यक्ति र ओलीको शीर्ष नेतासँगको परामर्श संयोग भए पनि एमाले नेताहरूले उनको पछिल्लो अभिव्यक्तिबारे पनि सामान्य छलफल मात्रै गरेनन्, एकताको नयाँ मोडालिटी प्रस्ताव गरेर निर्णायक मोड दिने निष्कर्ष नै निकाले ।

स्रोतका अनुसार एकीकृत पार्टीको नेतृत्वमा प्रचण्डलाई प्रमुख स्थान दिएर एकताको ‘स्पिरिट’लाई सम्मान गर्ने, दुवै पार्टीका शीर्ष नेताको व्यवस्थापन गर्ने नयाँ मोडालिटी प्रस्ताव गरेर छलफललाई निष्कर्ष दिनुपर्ने सुझाब शीर्ष नेताहरूले ओलीलाई दिएका छन् ।

‘पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्दै वार्ता प्रक्रियालाई उचाइमा पुर्‍याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ,’ बालकोट छलफलबारे वरिष्ठ नेता झलनाथ खनालले भने ।

उनले सैद्धान्तिक र वैचारिक पक्षमा दृढतापूर्वक उभिएर छलफल गर्ने र नेतृत्वको सवालमा लचकता अपनाउने गरी अध्यक्षलाई ‘म्यान्डेट’ दिइएको प्रस्ट संकेत गरे पनि मोडालिटी स्पष्ट पारेनन् । छलफलमा एमालेबाट वरिष्ठ नेता खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल र नेता सुवास नेम्वाङ मात्र सहभागी थिए ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top