भदौं १७, चितवन । डेंगु र स्क्रब टाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रब टाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो।
रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिए।
दुवै रोगको सङ्क्रमण अहिलेको समयमा बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९ सय ८ जनाको डेङ्गु परीक्षण गर्दा ६ सय २३ जनामा सङ्क्रमण देखिएको केसीले बताए । जसमध्ये ४ सय ५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४ सय १४ जना भरतपुर महानगरपालिकाका रहेको उनको भनाई थियो ।