९ असोज, विराटनगर । केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले कीर्तिपुर अस्पतालमा उनको उपचार भइरहेको छ ।
यसैविच, बलिउडका दुई जना कलाकारले मुस्कानलाई भिडियो सन्देश पठाएर हौसला बढाउने काम गरेका छन् । अभिनेत्री कृति सेनन र अभिनेता वरुण धवनले मुस्कानलाई भिडियो सन्देश पठाएका हुन् ।
सुरुमा यो घटना थाहा पाइसकेपछि पहिला कृतिले मेहबूब स्टुडियोबाट मुस्कानलाई भिडियो सन्देश पठाएकी थिइन् । भिडियोमा मुस्कानले कृतिलाई ‘मलाई तपाईँ मनपर्छ’ र जवाफमा कृतिले ‘म तिमीलाई माया गर्छु’ भनेकी छिन् ।
साथै कृतिले मुस्कानलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र अध्ययनमा ध्यान दिन सुझाएकी छिन् । कृतिले भिडियो सन्देशमा भनेकी छिन्, ‘तिमीले आफ्नो ख्याल गर्नेछौ र तिमी चाँडै निको हुनेछौं ।’
त्यसपछि कृतिले अभिनेता वरुण धवनलाई यो घटनाका बारेमा जानकारी गराएपछि उनी पनि यसै बस्न सकेनन् र मुस्कानलाई भिडियो सन्देश पठाए । वरुणले भने, ‘म मुस्कानलाई सबै माया र प्रार्थना पठाउन चाहन्छु । मलाई यसबारेमा थाहा दिएकोमा कृतिलाई पनि धन्यवाद !’
वरुणले मुस्कानलाई पढाइमा ध्यान दिन र निको भएपछि आफूसँग भेट्न आउन पनि भनेका छन् ।
त्यस्तै ’भ्वाइस अफ् नेपाल’ सिजन-२ का कोच राजु लामाले पनि मुस्कानसँग भेटेर सँगै गीत गाउँदै उनको साहस बढाउने काम गरेका थिए ।
वीरगञ्ज महानगरपालिकाका-३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।