विराटनगर, फागुन ९
जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हेमन्तप्रकाश ओली र पदम राईलाई सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गररे मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । ३ दिनदेखि नेताद्वय ओली र राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थिए ।
ओली सो पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन् भने पूर्व राज्यमन्त्री समेत रहेका राई केन्द्रका जनसरकार उपप्रमुख हुन् । गत फागुन ६ गते पार्टीको युवा स्वयंसेवक संघको राष्ट्रिय भेला हुने क्रममा प्रहरीले नेता ओली, राईसहित २ सय ९१ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका अन्य सोही दिन बेलुका छुटे पनि ओली, राई र कुमार खतिवडालाई भने प्रहरीले छोडेको छैन । खतिवडालाई जबर्जस्ती चन्दा मागेको आरोपमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
हिरासतमा रहेका नेता राईले आफूहरुलाई प्रहरीले म्याद थपका लागि पक्राउ पूर्जी थमौतिको प्रयास गरे पनि हस्ताक्षर गर्न अस्वीकार गरेको बताए । नेता राईले आफूहरुलाई झुठा मुद्दा लगाएर फसाउने प्रयास भइरहेको वताए । विराटनगरको राजवंशी चोकमा भिड जम्मा गरेको र राज्यविरुद्धमा नाराबाजी गरेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।