धरान, फागुन ११
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हाडजोर्नी सम्बन्धी छुट्टै आकस्मिक सेवा विस्तार गरेको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ३ सय भन्दा बढी बिरामी आउने गरेका छन् ।
पूर्वाञ्चलका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीको चाप बढ्दै गए पछि हाडजोर्नीका बिरामीलाई छुट्टै आकस्मिक सेवा विस्तार गरिएको हो । प्रतिष्ठानले जिओपीडी भवनलाई प्रयोग गरि २० शैयाको हाडजोर्नी आकस्मिक कक्ष संचालनमा ल्याएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले जानकारी दिए ।
छुट्टै हाडजोर्नी आकस्मिक कक्ष सन्चालनमा आएपछि हाडजोर्नीका बिरामीहरुले लामो समय पालो कुरेर बस्नु पर्ने समस्या अब समाधान हुने भएको छ । पूर्वकै रेफरल सेन्टरको रुपमा रहेको प्रतिष्ठानले यस अघि नै बाल विभागको छुट्टै आकस्मिक कक्ष स्थापना गरिसकेको छ ।