१ कार्तिक, काठमाडौं । वुमेन च्याम्पियन्स टि-२० लिग क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ ।
विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको हो । ९५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वा्धिक २३ को योगदान दिइन् ।
कप्तान सिता राना मगरले बोल्ड आउट गर्नुअघि २३ बलमा २ चौका प्रहार गरिन् । त्यस्तै अस्मीना कर्मचार्य २१ बलमा २ चौका सहित १६ रनमा अविजित रहिन् । पहिलो ओभरको चार बलमै ओपनर सोनु खड्का शून्यमा रन आउट भएकी थिन् । छैटौं ओभरको पाँचौ बलमा ओपनर ज्योती पाण्डे २२ रनमा क्याच आउट भइन् ।
अनुराधा चौधरीले सिता राना मगरबाट क्याच गराउनु अघि पाण्डेले १६ बलमा ४ चौका प्रहार गरिन् । दशौं ओभरको तेस्रो बलमा कप्तान सरिता मगरले डली भट्टलाई १२ रनमा कट एण्ड बोल्ड आउट गरिन् ।
पोखराका लागि सिता मगरले २ र अनुराधा चौधरीले १ विकेट लिइन् । त्यसअघि शुक्रबार विहान टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन मात्रै बनाउन सक्यो । पोखराको लागि कविता कुवरले २३ बलमा २ चौका सहित सर्वा्धिक २२ रन बनाउँदै अविजित रहिन् ।
सरस्वती मगर १० रनमा अविजित रहिन् । तेस्रो ओभरको तेस्रो बलमा ओपनर रुबी पोदरलाई १ रनमा गुमाएको थियो । उनलाई सोनु खड्काले विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराइन् । छैटौं ओभरको पहिलो बलमा विन्दु रावललाई सवनम राइले ५ रनमा पाण्डेबाट क्याच आउट गराइन् ।
दशौं ओभरको तेस्रो बलमा रेवती धामीलाई सवनम राइले १२ रनमा पेभिलिएनको बाटो देखाइन् । १४ ओभरको दोस्रो बलमा कप्तान सिता राना मगर १६ रनमा रन आउट हुन पुगिन् । उनी यसअघि खेलमा पनि रनआउट भएकी थिइन् । १५ औं ओभरको पहिलो बलमा अन्जली चन्द १५ रनमा रन आउट भइन् ।
कविता कुवरसँग रनमा तालमेल गर्न नसक्दा चन्द रन आउट हुन पुगेकी थिइन् । चन्दले १९ बलमा २ चौका प्रहार गरिन् । विराटनगरकी सवनम राइले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिदा सोनु खड्काको नाममा १ विकेट रह्यो ।
पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको थियो । विराटनगरले तेस्रो खेलमा शनिवार क्याट क्विन्स काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।
लगातार दोस्रो हारसँगै पोखराको शीर्ष स्थानमा रहेर स्वत फाइनल खेल्ने संभावना झिनो बाँकी रहेको छ । पहिलो खेलमा पोखरा काठमाडौंसँग ८२ रनले पराजित भएको थियो । पोखराले अब तेस्रो खेल शनिबार चितवन राइनोजसँग खेल्ने छ ।