देव विकास बैंक घोटाला प्रकरणमा अदालतको आदेश

देव विकास बैंक घोटाला प्रकरणमा अदालतको आदेश

७ कार्तिक, दाङ । देव विकास बैंकमा भएको १८ करोड बढी रकम हिनाहिना प्रकरणमा उच्च अदालत तुलसीपुरले पाँच जनालाई थुनामा राख्न, चार जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ।

अदालतले बैंकका म्यानेजर समिर बुढाथोकी, कर्मचारी अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी र विजयकुमार गुप्तालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको छ। त्यसैगरी, प्रतिवादी चार जनालाई धरौटी माग गर्दै छोड्न आदेश दिएको छ। पोषणप्रशाद जैसीसँग २० लाख, वीरेन्द्रकुमार गुप्तासँग २० लाख, अर्जुन बस्नेतसँग २७ लाख, मतकुमार पौडेलसँग ५ लाख धेरौटी माग गरिएको उच्च अदालतका सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए।

यस्तै, अदालतले प्रतिवादीहरु सक्टुराम गुप्ता, वन्दना गुप्ता, अर्चना थापा खत्री र वसन्तबहादुर बुढाथोकीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरले दायर गरेको अभियोग पत्रमाथि वयान लिने काम सकिएपछि भएको थुनछेक बहसमा बुधबार उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेशकुमार पोखरेल र ऋषिराम दवाडीले उक्त आदेश दिएका हुन्।

बैंकको १८ करोड बढी हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीमध्ये १३ जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको छ। अन्य सबै ४३ जना फरार प्रतिवादीको हकमा कानुन बमोजिम म्याद जारी गरेर कारबाही अगाडि बढाउन अदालतले निर्देशन दिएको छ।

विजयकुमार श्रेष्ठको जाहेरीले पक्राउ परेका बैंक म्यानेजर बुढाथोकीसहित सरकारी वकिलको कार्यालयले ५६ जना प्रतिवादीविरुद्ध अदालतमा आइतबार बैंकिङ कसुर सम्बन्धी मुद्दा पेश गरेको थियो। वाणिज्य इजलासमा १३ जना प्रतिवादीलाई भने अभियोग पत्रसाथै पेश गरिएको थियो।

बैंकका म्यानेजर बुढाथोकी पक्राउ परेपछि उनको बयानका आधारमा अन्य १२ जनालाई पक्राउ गरेर प्रहरीले झन्डै ६० दिन थुनामा राखी अनुसन्धान गरेपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.