विराटनगर, फागुन १४
एक नम्बर प्रदेश सभाको बैठक आज बस्दैछ भोलि १ बजे बस्ने बैठकमा कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने र प्रदेशसभा संचालन नियमावली मस्यौदा समिति गठन गर्ने २ वटा मात्रै कार्यसूची रहेको छ । सदनमा कोही पनि सांसदले आवश्यक समय लिएर मन्तव्य दिने कार्यसूची नरहेको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समिति भने बढीमा ११ सदस्यीय हुने अन्तरिम कार्यविधिमा उल्लेख छ । संसदमा भएका सबै दलबाट १÷१ जना अनिवार्य सहभागी हुनुपर्ने कार्यविधिमा रहेको छ भने प्रदेशसभा संचालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा आवश्यकता अनुसार सदस्य राख्न सकिने भण्डारीको भनाइ छ ।
प्रदेशसभा सरकारले लय पक्रिन नसक्दा संसदले आवश्यक बिजनेस पाएको छैन । नियमावली नबनेसम्मका लागि र बिजनेस तय नभएसम्मका लागि संसद बैठक पुनः नबस्ने सभामुख भण्डारीले बताए ।
संसदमा आवश्यक विधेयक दर्ताका लागि सरकारले कुनै तयारी अहिलेसम्म गरेको छैन । ६ नम्बर प्रदेशमा प्रदेशको नामांकरण कर्णाली राख्ने र राजधानी सुर्खेतलाई तोक्ने काम गरिसकेको अवस्थामा १ नम्बर प्रदेशमा भने अहिले उक्त विषयमा छलफल नै प्रारम्भ भएको छैन । प्रदेश सरकारले पनि अझै पूर्णता पाउन सकेको छैन ।