१६ कात्तिक, काठमाडौँ ।
फरवार्ड भरत खवासले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । उनी ६ महिना भन्दा लामो समयपछि टोलीमा पुनरागमन गरेका हुन् ।
विश्वकप छनोटमा जोर्डनविरुद्व रहेका ४ महत्वपूर्ण खेलाडीलाई विश्राम दिदैं बिहीबार म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि शनिबार २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गर्दा भरत टोलीमा समेटिएका छन् ।
भरत पछिल्लो पटक कुवेतविरुद्ध मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा सहभागी भएका थिए । गोलकिपर किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङ यस पटक टोलीमा छैनन् । मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक जोहन कालिनले ४ को सट्टा भरतसहित गोलकिपर एलेन न्यौपाने, सुवास गुरुड र मिछेन तामाडलाई समेटेका छन् । सुवास र मिक्छेन पहिलो पटक टोलीमा परेका हुन् ।
किरण र रोहित व्यावसायिक जिम्मेवारीका लागि विदेशमा छन् । विशाललाई घुँडाको समस्या र हेमनलाई विरामीका कारण आरम दिइएको बताइएको छ । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल नोभेम्बर ७ मा हुने छ । यस मेत्रीपूर्ण खेललाई फिफा विश्वकप छनोट २०२२ अन्तर्गत नोभेम्बर १९ मा घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि तयारीको रुपमा लिइएको छ ।
नेपाली टोलीको गोलरक्षकमा विकेश कुथु, बिशाल श्रेष्ठ, एलान न्यौपाने रहेका छन् । डिफेन्डर सरोज दाहाल,अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, दवेन्द्र तामाङ, रजिन धिमाल, सुमन आर्यल रहेका छन् । मिडफिल्डर सुनिल बल, रवि पास्वान, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्छेन तामाङ रहेका छन् । फरर्वाडमा भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ छन् ।