नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा सुरुङ इञ्जिनियरिङको पढाइ

१६ कात्तिक ७६, आइतबार

१७ कात्तिक, कास्की ।
इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनियरिङ विषयको अध्यापन हुने भएको छ ।

Advertisement

पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव हुँदा आशातीत कार्य अघि बढ्न नसकेको अवस्थामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा सुरुङ विषयमा स्नातकोत्तर तहमा अध्यापन सुरु गर्ने तयारी गरिएको छ ।

गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) विश्वविद्यालयको सहयोगमा स्नातकोत्तर तहमा आगामी शैक्षिकसत्र वैशाख १७ गतेदेखि अध्यापन गर्ने लक्ष्यअनुसार पाठ्यक्रम तयार गरिएकोे क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए ।

Advertisement

पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले हिजो र आज गरी दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरेको छ ।

प्रमुख पौडेलले भने, ‘सुरुङ इञ्जिनियरिङको अध्यापन देशका लागि आवश्यक भइसक्यो । दुई दिनको कार्यशालाबाट पाठ्यक्रम तयार गरेर आगामी शैक्षिकसत्रबाट कक्षा सञ्चालन गर्ने योजनामा छौँ ।’

Advertisement

इञ्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सिभिल इञ्जिनीयरिङ विषय समितिका अध्यक्ष प्रा डा नरेन्द्रमान शाक्यले तयार पारिएको पाठ्यक्रम अध्ययन संस्थानले स्वीकृत गरेसँगै पठनपाठनका लागि बाटो खुला हुने बताए।

नेपालमा ब्याचलर अफ सिभिल इञ्जिनियरिङको कोर्षमा टनेल इञ्जिनियरिङ विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटर अध्यापनको कार्य पहिलो भएको बताउँदै उनले भने, ‘गण्डकी प्रदेश सरकारले जसरी यस विषयलाई चासो दिएर अघि बढाउन सहयोग गरेको छ । यसले चट्टान तथा सुरुङका क्षेत्रमा आवश्यकयोग्य जनशक्ति उत्पादनमा सहयोग गर्दछ ।’

प्रस्तावित पाठ्यक्रममा भौगोलिक अवस्थाको अन्वेषण, टनेल डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय समेटिएको बताइन्छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा टनेल इञ्जिनियरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्ने उद्देश्यले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पोखरासहित काठमाण्डौको पुल्चोक क्याम्पसमा पहिलो ब्याचमा २०÷२० जना विद्यार्थी राखेर टनेल इञ्जिनियरिङ विषय अध्यापन गरिने शाक्यले जानकारी दिए। एनटीएनयूका प्रा.डा. कृष्णकान्त पन्थीले आफूहरू इञ्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरेर कार्यक्रम अघि बढाउन चाहेको उल्लेख गरे। त्यसका लागि पाठ्यक्रम तयार, कक्षा तथा प्रयोगशाला स्थापना लगायतका पक्षमा सहयोग प्रदान गरिने उनले स्पष्ट पारे ।

सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले सरकारले चालू वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङमार्ग निर्माण गर्ने गरी बजेट कार्यक्रममा उल्लेख गरे पनि सो कार्य आफूहरूका लागि नितान्त नयाँ भएकाले अघि बढाउन कठिनाइ रहेको उल्लेख गरे ।

नौबिसेमा हालै सुरुङमार्ग शिलान्यास गरिए पनि विभागसँग सुरुङका लागि आवश्यक दक्ष जनशक्तिको अभावमा प्रस्तावित अन्य स्थानमा आवश्यक प्रक्रिया अघि बढाउन अप्ठ्यारो भएको उल्लेख गर्दै उनले यस विषयको अध्यापनसँगै विभागको क्षमता विकासमा सघाउ पुग्ने बताए।

कार्यशालाको उद्घाटनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय आवश्यकताअनुसार टनेल इञ्जिनियरिङको पढाइमार्फत देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको बताएका थिए ।

सरकारको वार्षिक बजेटबाट समेत यो विषयको अध्यापनका लागि सहयोग उपलब्ध गराउने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गरेका थिए। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top