२२ कार्तिक, काठमाडौं । दशरथ रंगशालाको पूर्न्निर्माण सम्पन्न नभएपनि अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटनको चार दिनअघिबाट केहि खेल सुरु हुने खेल तालिका तयार भएको छ ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । सागको प्रतिस्पर्धा तालिका अनुसार भलिबल, उसु र शंकामा रहेको प्याराग्लाडिङ मंसिर १५ गते अघि नै सुरु गर्ने तय भएको छ ।
सागमा समावेश २९ खेल मध्ये २८ खेलमात्र सञ्चालन हुनेछ । कम्तीमा ३ राष्ट्र सहभागी हुने पर्नु मापदण्ड पुरा नहुने देखिएपछि प्याराग्लाडिङ लगभग नहुने निश्चित प्राय छ ।
त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भलिबल मंसिर ११ गते सुरु हुनेछ । अन्तरिक रुपमा जारी गरिएको खेल तालिका अनुसार उसु मंसिर १३ बाट नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा सुरु हुनेछ । सहभागी राष्ट्रको न्यूनत्तम संख्या नपुगेपछि शंकाको घेरामा रहेको प्याराग्लाडिङ मंसिर १४ गतेका लागि पोखरामा सुरु हुने खेल तालिकामा उल्लेख छ ।
दशरथ रंगशालामा मंसिर १५ गते औपचारिक रुपमा उद्घाटन हुनेछ । सोही दिन ५ खेल सुरु हुनेछन् । काठमाडौंमा पुरुष फुटबल, पोखरामा ब्याडमिन्टन, काठमाडौं कीर्तिपुरमा फेन्सिङ, सातदोबाटो कराते कर्भड हलमा कराते र कीर्तिपुर नयाँ बजारमा खोखो सुरु हुनेछ । त्यस्तै मंसिर १६ गते महिला क्रिकेट पोखरामा, लैनचौरमा टेबल टेनिस, सातदोबाटोमा टेनिस, पोखरामा ट्रायथोलन र सातदोबाटो तेक्वान्दो हलमा तेक्वान्दो सुरु हुनेछ ।
मंसिर १७ गते रंगशालामा एथलेटिक्स, पुरुष क्रिकेट काठमाडौंमा, साइक्लिङ गोकर्ण, महिला फुटबल पोखरामा, सुटिङ सातदोबाटोमा सुरु हुनेछ । सागको चौथो दिन मंसिर १८ गते पोखारमा ह्यान्डबल, महिला र पुरुष कबड्डी कीर्तिपुरमा सुरु हुनेछ । पौडी काठमाडौंमा, बीच भलिबल पोखरामा र भारोत्तोलन पोखारमा मंसिर १९ गते सुरु हुनेछ ।
मंसिर २० गते सातदोबाटोस्थित करोत हालमा बक्सिङ, नयाँ बजारमा फेन्सिङ,स्क्वास सातदोबाटोमा, कुस्ती जनकपुरमा सुरु हुनेछ । मंसिर २४ गते समापनका दिन बास्केबल, बक्सिङ, पुरुष क्रिकेट, पुरुष र महिला फुटबल, जुडो र स्क्वासका खेल पनि टुंगिनेछन् ।