२७ कार्तिक, काठमाडौं । एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पहिलो सेट २५–१४ ले पराजित गरेको नेपालले दोस्रो सेट २५–०५ र तेस्रो सेट २५–१३ ले जितेको हो । जितपछि नेपाल उपाधियात्रा पक्का भएको छ । खेलको वुमन अफ दि म्याच नेपालकी सरस्वती चौधरी घोषित भइन् ।
दुवै टिमले बुधबारको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका थिए । नेपालले प्रतियोगितामा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा पुग्यो भने समान खेलबाट माल्दिभ्सले ८ अंकमा रोकियो । प्रतियोगिताको फाइनल खेल शीर्षस्थानको दुई टिम नेपाल र माल्दिभ्सबीच हुनेछ ।
नेपालले अहिलेसम्म चार वटै खेलमा सिधै सेटमा जित हात पारेको छ । नेपाल र माल्दिभ्स २ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गरेका हुन् । २ वर्ष अघि पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । माल्दिभ्सलाई पराजित गरेको तत्कालीन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले अहिले फेरि जित निकालेको हो ।
त्यतिबेला प्रतिभा माली र सरस्वती चौधरी पनि नेपाली टिममा थिए । नेपाली टिममा अहिले नयाँ र पुराना खेलाडी बराबर छन् भने माल्दिभ्सको टिममा अधिकांश पुरानै खेलाडी रहेका छन् । नेपाल र माल्दिभ्सबीच बिहीबार फाइनल खेल हुनेछ ।