विराटनगर, फागुन २१
विराटनगरमा जारी सप्ताह ज्ञान महायज्ञमा १ सय १ वर्षिय एक बृद्धले तुलादान गरेकी छन् । विराटनगरको पोखरीयास्थित बिष्णुमाया पुस्तकालयलाई ई लाइब्रेरीमा परिणत गर्न र सामुदायिक भवनको निर्माणलाई पुर्णता दिन जारी महायज्ञमा विराटनगर १ निवासी १ सय १ बर्षिय बिष्णुमाया दाहालले तुलादान गरेकी हुन् ।
महायज्ञ परिसरमा आयोजित कार्यक्रमकाबीच छोराद्वय शंकर दाहाल र बद्रीनाथ दाहालसहित परिवारका अन्य सदस्यहरुको उपस्थितिमा दाहालले तुलादान गरिन् ।
सो क्रममा तराजुको एकापट्टि सिक्का र सुनचाँदी राखिएको थियो भने अर्कोतर्फ १ सय १ बर्षिय दाहाललाई राखेर जोखिएको थियो । दाहालको तौल बराबरको सिक्का र सुनचाँदी महायज्ञ आयोजक समितिलाई दान गरिएको बिष्णुमाया पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले जानकारी दिए ।
तुलादान गर्दा जीवनयापनको क्रममा जानी नजानी भएको जीव हत्या लगायतका पाप नष्ट हुने धार्मिक मान्यता रहेको कथावाचक पण्डित योगेश बराहक्षेत्रले बताए ।
१ करोड संकलन गर्ने उद्धेश्यसहित आयोजना गरिएको महायज्ञको पहिलोदिन नै ११ लाख रकम संकलन भएको जनाईएको छ । पहिलोदिन तुलादानकर्ता स्वंयसहित उनका छोरा बद्रीनाथ दाहाल,स्थानिय यमुना दाहाल र पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले ३–३ लाख नगद दान गरेका छन् । यस्तै अन्य दाताहरुले नगद २ लाख दान गरेका छन ।