एजेन्सी, फागुन २२
श्रीलंकामा मस्जिद र मुसलमानहरूको स्वामित्वमा रहेका व्यापार व्यवसाय विरुद्ध आक्रमणहरू भएपछि संकटकाल घोषणा गरिएको छ । बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि पुनः कफ्र्यु आदेश जारी गरिएको हो ।
एउटा जलेको भवनबाहिर एकजना मुसलमान युवाको शव फेला परेपछि श्रीलंकाका अधिकारीहरूले प्रत्याक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन् । गत हप्ता सडकमा भएको एउटा विवादमा केही मुसलमानहरूले एकजना बौद्धमार्गी पुरुषलाई पिटेका थिए ।
पछि उनको मृत्यु भएको थियो । तत्पश्चात दुई सम्प्रदायबीच तनाब बढेको थियो । गत हप्ता पूर्वी नगर अम्परामा पनि मुसलमानविरोधी हिंसाहरू भएका थिए ।
श्रीलंकामा बौद्धमार्गी सिंहला समुदायको बाहुल्य छ । सन् २०१२ देखि श्रीलंकामा तनाव बढेको छ । चरमपन्थी बौद्धमार्गीहरूको एउटा समूह बीबीएसलाई तनाव बढाएको आरोप लाग्ने गरेको छ । श्रीलंकाको कुल जनसंख्या दुई करोड १० लाख रहेको बताइन्छ। त्यसमा ७० प्रतिशत बौद्धमार्गी र नौ प्रतिशत मुसलमान रहेका छन ।