२२ मंसिर, विराटनगर ।
उपचारमा गएका विरामीको मृत्युपछि बारम्बार विवादमा तानिरहने विराटनगरको विराट नर्सिङ होम अर्थात विराट अस्पतालमा फेरी एक विरामीको मृत्यु भएको छ । आफन्तले चिकित्सकको चरम लापरवाहीले गर्दा विरामीको मृत्यु भएको बताएका छन् । अस्पतालको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आईतबार विरामीका आफन्तले अस्पताल परिसरमा प्रर्दशन गरेका छन् ।
अस्पतालमा तनावको स्थिती सिर्जना हुन थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । शनिबार इनरुवामा भएको सडक दुर्घटनामा परी सामान्य घाईते भएका सन्तोष गुप्ताको लापरबाहीकै कारण मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका हुन् । शनिबार करिब साढे १२ बजे दुर्घटनामा परेर सामान्य घाईते भएका गुप्ताको अस्पतालको लापरबाहीको कारण नै मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडी धनी र अस्पतालको मिलेमतोमा बिरामी लाई जानी जानी लापरबाही गरेर मारेको आफन्त गोपाल गुप्ताले बताए ।
दुर्घटनापछि इनरुवा अस्पतालमा भर्ना गरिएका गुप्तालाई करिब साढे १ बजे रेफर पेपर विनै विराट नर्सिङ होममा भर्ना गरिएको र बेलुका ५ बजे मृत्यु भएको जानकारी दिएर फेरी आईसियुमा राखिएको आफन्तले बताएका छन् । विरामीको अवस्थाको विषयमा अस्पतालमा बुझ्दा इमरजेन्सी वार्ड, काउन्टर तथा आईसियु कक्षबाट सबैको बेग्लाबेग्लै भनाई आएकोले लापरबाहीले मृत्यु भएको आफन्त शिव साहले बताए ।
आफन्तले रेफर पेपर विना भर्ना गर्नुको कारण के हो भनेर जवाफ मागिरहेका छन । उनीहरुले यदि बिरामी सिकिस्त भए आईसियुमा भर्ना नगरी ३÷४ घण्टा इमरजेन्सी वार्डमै राखिनुको कारण पनि माग गरेका छन । बिरामी जाँच गर्ने डाक्टरको नाम, इमरजेन्सी र आईसीयुको औषधी विवरण तथा विरामीको मृत्युको कारणहरुको विवरण अस्तपालले तुरुन्त दिनुपर्ने उनीहरुको भनाई छ । फत्तेपुरबाट विर्तामोड जाँदै गरेको ना ५ ख ४९८९ नम्बरको बसबाट लड्दा गाडीको सहचालक रहेका गुप्ता घाईते भएका थिए । दुर्घटना गराउने गाडी पनि गाडीधनीले छुटाएर लगिसकेको बताईएको छ । रेफर पेपरविना भर्ना गरिएको अस्पतालको इमरेजेन्सी वार्डका एक डक्टरले स्वीकार गरेका छन । उनले रिफर पेपर भन्दा ठूलो विरामीको ज्यान बचाउनु रहेको बताएका छन् । पहिले प्रयोग गरिएको औषधीबारे आफूलाई थाहा नभई किन औषधी चलाएको भन्ने प्रश्नमा उनी बोल्न नखोजी पन्छिएका छन् ।
अस्पताल प्रशासनको धारणा सार्वजनिक हुनुपर्र्ने भन्दै प्रशासनमा कुरा गर्न खोज्दा कर्मचारीले विरामीका आफन्तलाई भेट्न नै नदिएको आफन्तको भनाइ छ । यसविषयमा अस्पताल प्रशासनको धारणा माग्दा आफूहरुलाई पनि थाह नभएको र उपचारमा सम्लग्न चिकित्सकसँग बुझ्नु पर्ने प्रतिक्रिया दिएका छन । विराट नर्सिङ होम विरामीको उपचारका क्रममा मृत्युभएपछि पटक पटक विवादमा परिरहने अस्पताल मध्येको एक अस्पताल हो । अघिल्लो महिना पनि उपचारका क्रममा विरामीको मृत्युभएपछि अस्पताल तनावग्रस्त भएको थियो । विराटमा उपचारमा जाने विरामीको उपचारका क्रममा मृत्युपछि तिनका आफन्तले लापरवाही भएको भन्दै अस्पतालमाथि पटक पटक प्रश्न उठाउदै आएका छन् ।