६ पौष, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुल्य मान्यता भन्दा बाहिर गएर नक्कली कम्पनीहरुको लेखा परीक्षण नगर्न लेखा परीक्षकहरुलाई आग्रह गरेका छन् ।
इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
लेखा परीक्षकको धर्म लेखापरीक्षण मात्रै नभएको र कुन कम्पनी के कस्तो उद्देश्यले स्थापना भएको छ त्यो पनि बुझ्नु जरुरी रहेको उनले बताए ।
कानुन व्यवसायीले मुद्धा जस्तो सुकै भएपनि व्यवसायिक मर्यादा बहस गर्नु हो भनेजस्तै लेखाको मान्छेले कम्पनी जस्तो सुकै भएपनि लेखा परीक्षण गर्ने धर्म हो भन्न नमिल्ने उनले बताए ।
पछिल्लो समय नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको चेतावनी दिँदै अर्थमन्त्री खतिवडाले त्यस्ता कम्पनीहरुलाई सुधार गर्न चुनौती थपिँदै गएको बताए ।
फाइनान्सियल फ्रडकै लागि कतिपय कम्पनीहरु नक्कली नागरिकता र नक्कली सेयरधनी खडा गरी कम्पनी रजिष्ट्रारमा दर्ता हुने गरेको पाइएको उल्लेख गरे ।
संविधान कार्यान्वयनको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको आधिकार क्षेत्रको विषयमा जवाफदेहिताका विषयहरुमा अन्यौल कायमै रहेको उनले बताए । विद्यमान अन्यौलहरुको अन्त्य गर्न कतिपय कानुन बनिसकेको उनले बताए ।
अझै केही बन्ने क्रममा रहेको संसदमा रहेको उल्लेख गर्दै उहाँले कानुन निर्माण भएपछि संघीयतासँग जोडिएका अन्यौँल र त्यसको सिर्जना गर्न सक्ने व्यवसायिक अन्यौलहरु, व्यवसायिक क्षेत्रका मान्छे सबैलाई व्यवस्थित हुने गरी काम भइरहेको उनले बताए ।

