सावित्राको ह्याट्रिकसँगै एपिएफ प्रधानसेनापति महिला फुटबलको फाइनलमा

६ पुस ७६, सोमबार

७ पुस, काठमाडौं ।
नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Advertisement

सोमबार बिहान भद्रकालीस्थित नेपाल आर्मीको हेडक्वाटरको खेल मैदानमा भएको खेलमा नेपाली राष्ट्रिय टोलीका समेत स्टार फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरेपछि पुलिसलाई अतिरिक्त समयमा ५–२ ले पराजित गर्दै एपीएफ फाइनलमा पुग्न सफल भएको हो । एपीएफ लगातार छैटौ पटक फाइनलमा पुग्न सफल भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले ३ गोल गर्दै उपाधि नजिक पुगेको हो ।

Advertisement

एपीएफकी सावित्रा भण्डारी ‘साम्वा’ ले ह्याट्रिक तथा र अनिता बस्नेत र वैकल्पिक खेलाडी रेखा पौडेलले गोल गरिन् । पुलिसकी निशा सुनुवार र कप्तान घिम कुमारी गुरुङले गोल फर्काइन् । खेलको तेस्रो मिनेटमा सावित्राले दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् ।

त्यसपछि दुवै टोलीले गोलको केही अवसर सिर्जना गरेपनि गोल गर्न चुकिरहेको थियो । ४३ औं मिनेटमा पुलिसकी निशा सुनुवारले बराबरी गोल फर्काइन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई पहिलो हाफमा २–१ ले अघि बढाईन् ।

Advertisement

८७औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै खेललाई अतिरिक्त समयमा लम्ब्याएको थियो । १०७औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३–२ ले अघि बढाइन् । त्यसको दुई मिनेटपछि साबित्राकै पासमा वैकल्पिक खेलाडी रेखाले गोल गर्दै एपीएफको जित पक्का गरिन् । रेखा ४६औं मिनेटमा कप्तान अनु लामाको स्थानमा मैदानमा प्रवेश गरेकी थिइन् । ११५औं मिनेटमा साबित्राले ह्याट्रिक पूरा गर्दै एपीएफलाई ५–२ को जित सहित फाइनलमा र्पुयाइन् ।

अब एपीएफले उपाधिका लागि बुधबार आर्मी र भुटानबीचको बिजेतासँग खेल्नेछ । आर्मी र भुटानबीचको खेल आजै दिउँसो २ बजेपछि भद्रकालीमा हुनेछ । पहिलो संस्करणमा तेस्रो र दोस्रो संस्करणमा दोस्रो भएको एपीएफले त्यसपछिको सबै चार संस्करणको च्याम्पियन बन्न सफल भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top