काठमाडौं, चैत २
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विमान दुर्घटना हुन नदिन आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले यूस बंगला एयर विमान दुर्घटनाबारे आज प्रतिनिधिसभालाई जानकारी गराउँदै विमान दुर्घटना हुन नदिन सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
विमान दुर्घटना लगत्तै गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनको आधारमा नेपालमा फेरी विमान दुर्घटना हुन नदिनेगरी आवश्यक योजना बनाउने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको डिएनए परिक्षण लगायतको कामलाई छिटो सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
गत सोमबार यूस बंगला एयरको विमान दुर्घटनामा परी ५१ जनाको ज्यान गएको थियो । प्रधानमन्त्री ओलीले घाइते मध्ये १७ जनाको अस्पतालमा उपचार भईरहेको र ३ जना स्वास्थ्य लाभगरी घर फर्किएको पनि जानकारी दिए ।