अदालतमा सुनुवाई चलिरहँदा भारत लागे सिद्धबाबा

९ माघ, विराटनगर ।
सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा उनीविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला भारततिर लागेका छन् । सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई नेपाल–भारत सीमा क्षेत्र जोगवनीबाटै फिर्ता पठाएर बलात्कार आरोपी सिद्धबाबा बिहीबार दिउँसो करिब १ बजे भारततर्फ हिँडेका हुन् ।

उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो । स्रोतकाअनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार साह अन्योलमा परेका छन । सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । तर अदालत नपुगिकन सिधै जोगवनी हानिएका सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन । उनी किन भारत गए भन्ने बारेमा यकिन भइनसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । उनले हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको बताए । स्रोतका अनुसार स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको बुझिएको छ ।

सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर लागेको बताइएको छ ।

Advertisement

आफ्नो पक्षमा आदेश आएमा नेपाल फर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेको स्रोतको भनाइ छ । सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।उनी जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top