१३ माघ, एजेन्सी ।
अमेरिकी पूर्व प्रथम महिला मिशेल ओबामा प्रतिष्ठित ग्रामी अवार्ड विजेता बनेकी छन् ।
मेरिकाको लस एन्जलसमा नेपाली समय अनुसार सोमबार बिहान भएको ६२ औँ ग्रामी अवार्डमा मिशेल ओबामाले अडियो बुक विधामा ग्रामी अवार्ड जितेकी हुन् । अमेरिकी संगीतमा वर्षभरि भएका उत्कृष्ट सिर्जनाहरुलाई सम्मानित गर्ने ग्रामी अवार्डमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा पत्नी मिशेलले बेस्ट स्पोकन वर्ड एल्बम (पोइट्री, अडियो बुक एण्ड स्टोरी टेलिङ्ग) विधामा अवार्ड जितेकी हुन् ।
मिशेल ओबामाको अटोबायोग्राफी ‘बिकमिङ्ग’ सन् २०१८ मा सार्वजनिक भएको थियो । त्यसपछि सो पुस्तकको अडियो संस्करण सार्वजनिक भएको हो । सोही अडियो संस्करणका लागि मिशेलले ग्रामी अवार्ड जितेकी हुन् ।
सन् २०१८ मा मिशेलको पुस्तक बेस्ट–सेलिङ्ग हार्डकभर बुक बनेको थियो । सार्वजनिक भएको पहिलो दिनमै अमेरिकामा मात्रै २० लाख भन्दा बढी प्रति बिक्री भएको थियो । यस्तै क्यानडामा पहिलो दिनमै सात लाख २५ हजार प्रति बिक्री भएको थियो ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पनि दुई पटक ग्रामी अवार्ड जितेका छन् । उनले सन् २००६ मा ‘ड्रिम्स फ्रम माई फादर’ तथा सन् २००८ मा ‘द अडासिटी अफ होप’ पुस्तकको अडियो संस्करणका लागि बाराक ओबामाले ग्रामी अवार्ड जितेका थिए ।