गिट्टी कुटेर गुजारा चलाउने ६५ वर्षीय पुतली

१३ माघ ७६, मंगलबार

१४ माघ, जाजरकोट ।
माघको चिसो, सडकको छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ छेपारेस्थित ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै भेटिन्छन् ।

Advertisement

उमेर जति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् । गिट्टी कुटेर दैनिक रु छ हजारभन्दा बढी कमाउने गरेको उनको भनाइ छ । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न रहर नभई बाध्यता रहेको छ ।

दर्जन बढी परिवारको सङ्ख्य भएकी पुतली अहिले बाँच्नका लागि गिट्टीको सहारा लिन बाध्य भएको बताइन् । उनले भनिन्, “रेडियोबाट यो बाटो कालेपत्र गर्ने समाचार सुनेपछि म यहाँ गिट्टी कुट्न आएकी हुँ, नाति, नतिनालाई कापीकलम र मलाई घर खर्च टार्न केही पैसा आउला भन्ने आशा छ ।”

Advertisement

“छोराहरु कमाइ गर्न भारत गएका छन्, छोरी सबैको विवाह भइसकेको छ”, उनले भनिन्, “अहिले मर्ने बेला पनि ढुङ्गा कुटेर जीवन पाल्ने पेशा नछुट्ने भो, हात नचलाए खाना पाइँदैन ।”

उनीजस्तै आठविसकोट नगरपालिका–११ रिठास्थित छ बच्चाकी आमा २७ वर्षीय कमला सिर्पाइली दुई बच्चा च्यापेर गिट्टी कुट्दै छिन् । १५ वर्षकै उमेरमा उनको विवाह भयो । छोराको आस गर्दागर्दै पाँच छोरी जन्म हुँदा अन्तिममा छोरा जन्मिएको छ ।

Advertisement

कमलाले भनिन्, “श्रीमान् भारतमा कमाइ गर्न गएको दुई महिना भयो, म दुई छोराछोरी च्यापेर गिट्टी कुट्दैछु । दिनभरि कुटेको गिट्टीबाट मुस्किलले रु छ हजार हुन्छ ।” दैनिक गिट्टी कुटेको रकमबाट छोराछोरीको लालनपालनदेखि घरायसी खर्च जुटाउन सजिलो भएको उनको भनाइ छ ।

त्रिभुवन मावि नलगाड–७ दल्लीमा कक्षा ४ मा पढ्ने आशिष पुन विद्यालय जाने समयसम्म गिट्टी कुट्ने गरेका छन् । बिहान ६ बजे रिठास्थित सडकमा हातमा हथौडा लिएर गिट्टीसँग पौठेजोडी खोज्ने आशिष यही कमाइबाट पढाइ खर्च जुटाउँछन् । बिहान चार घण्टा गिट्टी कुटेर विद्यालय जाने पुनलाई दैनिक गृहकार्य गर्ने समय नभएर समस्या पर्ने गर्दछ । उनी भन्छन्, “दैनिक गिट्टी कुट्दा गृहकार्य गर्ने समय नै हुँदैन, सरले किन गृहकार्य नगरेको भन्दै साथीको अगाडि उभ्याउनुहुन्छ, मेरो समस्या भने अर्कै छ ।”

यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । जाजरकोट–डोल्पा सडकखण्डभित्र अहिले जीवन धान्नकै लागि गिट्टी कुट्ने मानिसको ठूलो भीड लाग्ने गरेको छ । दुधेबच्चा बोकेर सडकमा गिट्टी कुट्दै दैनिकी चलाउनेदेखि ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको जीवन धान्ने गतिलो माध्यम यही गिट्टी बनेको छ ।

रोजगारीका कुनै वैकल्पिक माध्यम नभएको भित्री पहाडीमा यहाँका अधिकांश स्थानीयवासी भारत जाने गर्दछन् । भारत जानबाट रोकिएका अधिकांश मानिस सडकमा गिट्टी कुटेर दैनिक जीवनरुपी रथलाई गति दिन बाध्य छन् । पुसको चिसो सिरेटो र पातलो एकसरो कपडाको सहारामा हातमा हथौडा लिएर गिट्टी कुट्दै जीवन खोज्नेहरु आजभोलि सडकमै भेटिने गरेका छन् ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पासागाड–चिसापानीसम्म पक्की गर्ने काम शुरु भएसँगै यहाँका अधिकांश गरीब परिवारका स्थानीयवासी सडकमा गिट्टीको सहारा लिन थालेका हुन् । छोराछोरीको पढाइदेखि वृद्धावस्थाको सहारा गर्नका लागि आर्थिक जोहो सडकमै हुने गरेको छ ।

खेतबारीमा उपादन हुने अन्नले छ महिना खाना नपुग्ने यहाँका स्थानीयवासी कोही भारत गएर कमाइ गर्छन् भने कोही यसरी सडकमा काम गरिरहेका छन् । गाउँगाउँमा विकास निर्माणका काममा समेत अधिकांश महिला नै सहभागी हुने गरेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।

युवाहरु विदेशी भूमिमा छन्, गाउँमा वृद्ध तथा कम ऊर्जाशील सर्वसाधारण बढी भएका कारण विकास निर्माणका काम गर्न समस्या भएको यहाँका स्थानीय सरकारले बताएका छन् । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top