काठमाडौं, चैत ३
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता नभएको देशमा मद्दत गर्ने नाममा आउने विदेशीले हस्तक्षेप गर्ने भएकोले सचेत रहनुपर्ने बताए । पूर्वसांसद मञ्चको बधाई कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश आफै धर्म, सम्प्रदाय तथा भूगोलको नाममा विभाजित भएमा मद्धत गर्ने नाममा विदेशीहरुले ध्वस्त पार्ने बताए ।
उनले देशलाई त्यस्तो विभाजनबाट बचाउनका लागि सरकार कटिबद्ध भएर लागि पर्ने समेत बताए । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार हुँदासम्म चन्दा असुली, जवर्जस्ती जस्ता आतंक पनि बन्द गर्ने बताए ।
महिलामाथि हुने दुव्र्यबहार र बलात्कारीलाई कडाईका साथ कारवाही गर्ने र प्रहरीले जवर्जस्ती मिलापत्र गराउने काम पनि बन्द हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले जनताले आफूलाई दृढतापूर्वक देश बनाउनका लागि भनेर जिम्मेवारी दिएकोले जनताको आदेशअनुसार चल्ने बताए ।
ठेक्कापट्टा, कमिशन लगायत विकृतिको पनि आफ्नो कार्यकालमा अन्त्य हुने उनको भनाई छ । कार्यक्रममा बोल्दै पूर्वसाँसद मञ्च अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले वर्तमान सरकारबाट जनताले धेरै आशा राखेकोले जनअपेक्षा अनुसार काम गर्न सुझाव दिएका थिए ।