१६ माघ, नयाँदिल्ली ।
भारतमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको पुष्टि भएको छ । केरलामा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । चीनको वुहान विश्वविद्यालयमा अध्यननरत विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको हो ।
बिहीबार भाईरस संक्रमित भेटिएको पुष्टि गर्दै भारतको स्वास्थ्य मन्त्रालयले उनलाई निगरानीमा राखिएको जनाएको छ । वुहानबाट फर्किएपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै राजधानी नयाँ दिल्लीमा तीन जनालाई कोरोना भाइरसको संक्रमणको आशंकामा आरएमएल अस्पतालको आइसोलेसन वार्डमा निगरानीमा राखिएको छ ।
चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा १७० जनाको मृत्यु भएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनका सबै प्रान्तमा यसको संक्रमण फैलिएको छ । बिहीबार बिहानसम्म ७ हजार ७ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीनबाहेक विश्वमा विभिन्न देशमा ९० जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । चीनबाहिर भने यसबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।