१७ माघ, एजेन्सी । अस्ट्रेलियाको क्यानबेरामा बढ्दो डढेलो नियन्त्रणमा नआएपछि आपतकालीन घोषणा गरिएको छ । शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि आपतकालीन घोषणा गरेका हुन् ।
क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रले सन् २००३ मा लागेको डढेलोपछि पहिलो पटक आपतकालीन घोषणा गरेको बताएका हुन् । अधिकारीका अनुसार अनियन्त्रित डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ ।

उक्त आपतकालीन अवस्था ७२ घण्टासम्म लागू हुने र अधिकारीहरूलाई सहर खाली गर्न, सडक बन्द गर्न अधिकार दिइएको रोयटर्सले जनाएको छ ।
गत सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म फैलिएको डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले प्रयास गरिरहेका छन् । डढेलोले ३३ जनाको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ ।

करिब २५ सय घर आगोले नष्ट भइसकेका छन् । यसअघि सन् २००३ मा आपतकालीन घोषणा हुँदा क्यानबेरामा चार जनाको मृत्यु भएको थियो। करिब ५०० जना घाइते भएका थिए भने ४७० घर नष्ट भएका थिए।

