रसुवा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि

१७ माघ, रसुवा । रसुवा जिल्लामा कोरोना भाइरस सङ्क्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन् ।

Advertisement

रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनिलकुमार खरेलले सीमा क्षेत्रको जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्म फेला नपरेको स्पष्ट पारेका हुन् । चिकित्सकले प्रमाणित गरे बाहेक अन्य कुनै पनि व्यक्तिले यो रोग र त्यो रोग भनेर व्याख्या गर्नु गलत हुने हुँदा कोही कसैले गरेका टिकाटिप्पणी एवं हल्लाको पछि नलाग्न रसुवाबासीलाई आग्रह गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

उपचारका क्रममा अस्पताल आएका एक बिरामीको कोरोना भाइरसको आशङ्का भन्ने बिहीबारको हल्ला पुष्टि नभएको र उनको थप उपचारार्थ उपकरणयुक्त काठमाण्डौ टेकु अस्पताल पठाइएको रसुवा अस्पतालले जनाएको छ ।

Advertisement

उपचारार्थ आउने बिरामीमध्ये जटिल अवस्था भएकालाई परीक्षण उपकरणको अभाव अवस्थामा मात्र काठमाण्डौ पठाइएको र अन्यको उपचार स्थानीय अस्पतालमा भइरहेको अस्पतालले जनाएको छ ।

हिमपातको असरले रसुवामा चिसो बढिरहेका कारण ज्वरो तथा रूघाखोकी जस्ता समस्या बढ्नसक्ने भएकाले चिकित्सकको प्रमाणित बेगर त्रास फैलिने खालका हल्ला नगरिदिन सम्बद्ध सबै पक्षसँग विनम्रतापूर्वक आग्रह गरिएको समेत डा. खरेलले बताए ।

Advertisement

चीनमा फैलिएको यो भाइरस सीमा क्षेत्रबाट नेपालमा सर्न नदिन यही माघ १५ गतेदेखि १५ दिनका लागि चिनियाँ अधिकारीले रसुवागढीदेखि केरूङसम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवतजावतमा रोक लगाइसकेको सीमासुरक्षा अधिकारीले बताएका छन् ।

सीमा क्षेत्रका चिनियाँ अधिकारीले आवतजावतमा रोक लगाएपछि माघ १५ गतेदेखि सवारी साधन र मानिसको आवतजावत पूरै रोकिएको र सामान खरिदका लागि मितेरी पुलपारि गढीबजारसम्म आवतजावत भने भइरहेको बताइएको छ ।

चीनसँग सिमानासँग जोडिएको भए पनि रसुवामा भाइरसको सङ्क्रमण हालसम्म नभेटिएको र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रोग नियन्त्रणका लागि सीमा क्षेत्रमै विभिन्न प्रयास भइरहेकाले हल्लाको पछि नलाग्न रसुवाबासीलाई आग्रह गरिएको सहायक प्रजिअ सपनाकुमारी भट्टराईले बताए ।

रसुवा अस्पतालले गएराति पठाएको बिरामीको समस्या परीक्षण गरी हेर्दा उनलाई कोरोना भाइरस नभई दमको पुरानो समस्याले ज्वरो तथा खोकी लागेको पाइएको स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण महाशाखा टेकुका सरूवा रोग विषेशज्ञ डा अनुप बास्तोलाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top