१९ माघ, काठमाडौं । एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको वुहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ ।
कोरोना भाइरसका कारण उद्धार गरिएका कुल भारतीयको संख्या ६४७ जना पुगेको छ । वुहानबाट आइतबार बिहान ३ः१० बजे उडेको एयर इन्डियाको विमान नयाँदिल्लीमा अवतरण गरेको थियो ।

आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका थिए ।
चीनको वुहान कोरोना भाइरसका कारण सर्वा्धिक जोखिममा रहेको छ । गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३०४ जनाको ज्यान गइसकेको छ ।
चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
