२१ माघ, काठमाडौँ ।
सरकारले नोवेल कोरोना भाईरस संक्रमण र नियन्त्रणका लागि भईरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्रीले समय लिएर बोल्दै कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारबाट भएका कामकारवाहीको जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको , प्राविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयको सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भईरहेको पनि उनले स्पष्ट पारे । संक्रमणबाट बच्नका लागि जनचेतना मुलक विज्ञापन बनाईएको र सम्बन्धित विज्ञहरुसंग विभिन्न चरणमा बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भईरहेको उनले उल्लेख गरे । उनले चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको र बिलम्ब नगरि ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पारे ।
उनले सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यही अनुसारको सर्तकता अपनाउने तयारी भईरहेको बताए । युवान प्रान्तमा विमानस्थल बन्द रहेको र यातायात पनि संञ्चालनमा नरहेकाले स्थानीय सरकारसंगको समन्वयनमा त्यहाँका नेपालीलाई नेपाल ल्याई न्यूनतम १४ दिन क्वारेन्टाईनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरि आवश्यक तयारी गरिएको उनले बताए ।
कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्र्तगत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधान अनुसार आदेश जारी पनि गरिसकेको उनले स्पष्ट पारे । उनले तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा वेडको व्यवस्था मिलाईएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भईरहेको, तत्कालका लागि काठमाण्डौ उपत्यका भन्दा बाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि संभावित जोखिमको ठाउमा राखेर आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे । उनले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाँउ नपाएको भन्ने भनाईमा सत्यता नभएको र ढिलाई गरेको भन्ने भनाईमा सत्यता नभएको दाबी गरे ।
प्रतिनिधिसभाको मंगलबारकै बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरि ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरे । उनले चीनमा कोरोना भाईरसको उत्पत्ति र बढी संक्रमण पनि फैलिएकाले उनीहरुले यसमा उच्च सर्तकता र कडा व्यवस्थापन गर्नु जरुरी भएपनि नेपालमा समस्या नभएकाले उसको जस्तै तयारी गर्नुपर्छ भन्ने भनाई तर्कसंगत नभएको बताए । उनले विद्यार्थी समयको भनाई उद्धृत गर्दे त्यसै सांसदहरुले गरेको टिप्पणीको तुलना गरे । उनले चीनबाट ल्याएका नेपालीहरुलाई राख्ने स्थान हेरिसकेको र ती स्थानमा राख्ने सवालमा बिलम्ब नहुने स्पष्ट पारे । नेपाल ल्याउनु भन्दा अगाडि चिनीया सरकारले परीक्षण गर्ने, पोजेटिभ देखिएमा उतै राख्ने र संक्रमण हो भनेर प्रमाणित नभएको तर जोखिम युक्त क्षेत्रबाट आएकालाई संक्रमण हुन सक्ने भएकाले निगरानीमा राख्ने प्रबन्ध मात्रै मिलाउने काम भएको उनले स्पष्ट पारे ।
उनले विमानस्थलमा नै हेल्प डेक्स राखिएको र मेसिनबाट जाँच्ने काम भईरहेको पनि उल्लेख गरे । नेपाल फर्कन चाहनेहरुको फर्म भर्नु भनेर गरेको आव्हानमा १ सय ८० जनाले मात्रै फर्म भरेको जानकारी गराए । माघ १६ गते अन्तराष्ट्रिय स्तरमा इमरजेन्सीको घोषणा गरेको भएपनि व्यापार र यातायातमा कुनै प्रतिवन्ध नलगाईएको उनले स्पष्ट पारे । यसको संक्रमणबाट विरामी सिकिस्त पनि नहुने र अस्पताल जाने स्थिति कम भएको तथा एउटा विरामीबाट अर्को स्वस्थ्य व्यक्तिमा सर्नका लागि २ देखि १४ दिन लाग्ने भएकाले यसमा सावधानी अपनाउनुपर्ने उनले उल्लेख गरे । उनले विश्व स्वास्थ्य संगठनको सोमबार सांझसम्मको तथ्यांक अनुसार, विश्वका २३ मुलुकमा कोरोना भाईरस फैलिएको बताए । यसबाट १७ हजार ३ सय ५१ जनाहरु संक्रमित रहेको र सबै भन्दा बढी चीनमा १७ हजार २ सय ३८ जना संक्रमित रहेका छन् ।