एजेन्सी,माघ २३
भारतले चिनियाँ नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै मुलुकमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो।
स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन सरकारले मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ ।भारतको महारागंज जिल्लाको सोनौली प्रहरी चौकीका प्रमुख एस.आई. अशोक कुमारले कोरोना भाइरसका कारण स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको आगमनमा प्रतिबन्ध लगाइएको पुष्टि गरे।
‘नेपालबाट स्थलमार्ग हुँदै आउने चिनियाँ पर्यटकको आगमन प्रतिबन्ध लगाइएको छ’, उनले भने, ‘अर्को आदेश नआएसम्म प्रतिबन्ध रहनेछ।’प्रतिबन्धको आदेश अघि आगमनको अनुमति लिइसकेको चिनियाँ नागरिकलाई भने भारतमा प्रवेशमा रोक लगाइने छैन।
अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा मात्र ५६३ को मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण विश्वका २७ देशमा फैलिइसकेको छ । यसले महामारीको रुप लिएपछि विश्वभर सतकर्ता अपनाइएको छ ।