२७ माघ, एजेन्सी ।
महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ ।
आइतबार एकै दिन नोवेल कोरोनाका कारण ९७ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको हो । कोरोनाका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको छ।
तर चीनमा नोवेल कोरोनाका कारण नयाँ संक्रमित हुनेको संख्या भने स्थिर रहेको छ । चीनभर हालसम्म ४० हजार १७१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल एक लाख ८७ हजार ५१८ जनालाई निगरानीमा राखिएको छ ।
चीनले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचारपछि नोवेल कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । संक्रमित तथा मृत्यु हुनेमा अधिकांश चीनको हुबेइ प्रान्तका छन् ।
हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो । एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहान शहर विगत केही हप्तादेखि बन्द रहेको छ ।
चीन बाहिर कम्तिमा २७ देशमा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर मात्रै दुईजनाको मृत्यु भएको छ । फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको हो । नोवेल कोरोना भाइरसको संक्रमणलाई गएको जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
यसैबिच डब्लुएचओले अन्तर्राष्ट्रिय विज्ञहरुको एक टोली चीन पठाएको छ । नोवेल कोरोना भाइरसको महामारीबारे अध्ययन गर्नका लागि आइतबार विज्ञहरुको टोली बेइजिङ गएको डब्लुएचओले उल्लेख गरेको हो ।