२९ माघ, काठमाडौं ।
कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् । चीनको बाटो हुँदै नेपाल आएका साउदी अरबका नागरिक अस्पतालले निगरानीमा राख्ने तयारी गर्दागर्दै भागेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए । सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । ‘उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ’ प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’
अस्पतालमा बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ । चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई भर्ना गरिएको उनले बताए ।
श्रेष्ठका अनुसार उनीहरु तीन जनामा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना पठाइएको छ। अहिले उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
अस्पतालबाट कोरोना आशंका गरिएका २ चिनियाँ नागरिक पनि दुई हप्ताअघिदेखि सम्पर्कविहीन भएका थिए ।