विराटनगर, चैत ५
बाँतर जातिको चिनारी समेटिएको खोजमूलक पुस्तकको विराटनगरमा लोकर्पण गरिएको छ । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सवको अवसरमा ‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तकको विमोचन गरे ।
पदमकुमार सरदारद्वारा लिखित सो पुस्तकमा बाँतर जातिको रहनसहन, संस्कार, पेशा, आर्थिक अवस्था, शिक्षा, धर्म संस्कृतिलगायतका विषय समेटिएको छ ।
पूर्वी तराईको सात जिल्लामा बसोवास गर्दै आइरहेको यो जातिको जनसङ्ख्या २०६४÷०६५को जनगणनाअनुसार ८६ हजार ६ सय २९ छ । पुस्तक विमोचन गदै सामाजिक विकासमन्त्री घिमिरेले अल्पसङ्ख्यक जातिको पहिचान र उत्थानका साथै संरक्षण तथा सम्बद्र्धन गर्न सरकार प्रतिबद्धरहेको बताए ।
उनले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा क्षेत्रमा पिछडिएकाले यस जातिका २० जना बालवालिकालाई विराटनगरका विभिन्न विद्यालयमा निःशुल्क रुपमा अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।
बाँतर जाति केन्द्रीय कल्याणकारी समितिका अध्यक्ष मोहनलाल सरदारले बाँतर जातिलाई दलितमा सूचीकृत गरिएकामा असन्तुष्टि व्यक्त गर्दै यो जाति जङ्गलमा बसोवास गर्ने भएकाले आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गरे । प्रदेशसभा सदस्य जयराम यादवले बाँतर जाति पिछडिएको जाति भएकाले यसको उत्थानका लागि अग्रसर हुनुपर्ने विषयमा जोड दिए ।