काठमाडौं, चैत ६
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भइरहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पारे । दमक–चिसापानी सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्न आज काठमाडौंमा आईपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए ।
उनले विकास आयोजनहरुको कामलाई अघि बढाउँदै लैजाने योजना पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले विकासमार्फत् मुलुकमा समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको पनि उल्लेख गरे ।
उनले उत्पादनमा बढावा दिँदै मुलुकमा रोजगारीको अवसर सृजना गर्न लागिएको समेत बताए । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित दमक–चिसापानी सडकको उचित व्यवस्थापनका लागि थप १ अरव ७५ करोड बजेट निकासा गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ ।
उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले आवश्यक बजेटको अभावमा सडकमा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङलगायतका काम अघि बढाउन नसकिएको गुनासो पनि प्रधानमन्त्री ओलीसँग गरेका थिए ।