काठमाडौं, चैत ६
गृहमन्त्री रामबहादुर थापाले कारगार सुधारका लागि आवश्यक योजना तत्काल ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री थापाले मंगलबार विहान सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेलगत्तै संचारकर्मीमाझ कारगार सुधार योजना तत्काल ल्याउने प्रतिक्रिया दिएका हुन् ।
उनले केन्द्रीय कारगारमा ठूलो सुधारको आवश्यक्ता रहेको पनि बताए । ठाउँ सानो तर कैंदी धेरै भएको पाइएको उल्लेख गर्दै यसको सुधारका लागि तत्काल काम सुरु गर्ने योजना पनि उनले सुनाए ।
गृहमन्त्री थापाले केन्द्रीय कारगारको सुधारका लागि तत्काल भौतिक संरचना निर्माण कार्य सुरु गर्ने पनि बताए । गृहमन्त्री थापाले केन्द्रीय कारगारमा कैंदी र बिरामी कैंदीलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्ने आश्वासन पनि दिए ।
निरीक्षणका क्रममा कैदीहरुले विरामीहरुलाई समेत कैदी सरह व्यवहार गर्ने गरेको गुनासो गरेपछि उनले अव छुट्टाछुट्टै बाससहितको व्यवस्था गर्ने बताएका हुन् ।
केन्द्रीय कारगार १ सय ४ वर्ष पूरानो कारगार हो । सरकारले यसको भौतिक संरचना निर्माण गर्ने प्रतिवद्धता पटक–पटक व्यक्त गर्दै आएपनि कार्यान्वयनमा भने ल्याउन सकेको छैन ।