काठमाडौं, चैत ६
सरकारले भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई तत्काल सुचारु गराउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
त्यसका लागि विमानस्थलमा देखिएको समस्या बुझ्न आफैं स्थलगत निरीक्षणमा जाने पनि मन्त्री अधिकारीले बताए । मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पोखरा विमानस्थलको काम भईरहेको र त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री अधिकारीले देशका विभिन्न भागमा आवश्यक्ता अनुसार विमानस्थल निर्माणको कामलाई अघि बढाउने योजना पनि अघि सारे । मन्त्री अधिकारीले पाईलटहरुको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले बाह्य उडान मात्रै भर्न चाहने पाईलटहरुलाई आन्तरिक उडान अनिवार्य गर्नुपर्ने व्यवस्था गरे तत्काललाई पाईलटको अभाव नहुने पनि स्मरण गराए । मन्त्री अधिकारीले पाईलटहरुसँग समयसीमा तोकेर सेवा अवधि तोक्ने योजना पनि सुनाए ।