डोला उचालेर दाहालद्वारा मध्यमा परिक्रमाको शुभारम्भ

डोला उचालेर दाहालद्वारा मध्यमा परिक्रमाको शुभारम्भ

११ फागुन, जनकपुर । मध्यमा परिक्रमाको डोला सोमबार धनुषाको मिथिलाविहारी नगरपालिका कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट निस्केको छ ।

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले किशोरीजीको डोला उचालेर १५ दिने धार्मिक यात्राको सुरुवात गरे । परिक्रमामा नेपाल र भारतका हजारौं साधु, सन्त, महन्थ तथा आम श्रद्धालु सहभागी छन् । बिहान मध्य धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट निस्केको मिथिला विहारी (जानकी)को डोला उचाल्न दाहालसँगै पूर्वमन्त्री रघुवीर महासेठ, सांसद जुली महतोलगायत नेता पुगेका थिए। परिक्रमा सुरु हुनु अगाडि हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको थियो।

कचुरीबाट सुरु भएको धार्मिक यात्रा वेंगा, शिवपुर, मुजेलिया, पिडारी, जनकपुरको रत्नसागर मठ, जानकी मन्दिर हुँदै जनकपुरको हनुमान गढीमा विश्राम गर्ने प्रचलन छ। मंगलबार बिहान सूर्योदयसँगै परिक्रमामा सहभागी भएकाहरु सीमावर्ती कलानेश्वर प्रस्थान गर्नेछन्। जहाँ बुधबार बिहानै १५ दिने मध्यमा परिक्रमा विधिवत शुभारम्भ हुनेछ।

फागुन औँसीको दिन कचुरीको मिथिला विहारी मठबाट सुरु भएको मध्यमा परिक्रमा भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, औरसाहा तथा पुनः भारतको करुणा, विसौल, कलानेश्वर हुँदै फागु पूर्णिमाको पूर्वसन्ध्यामा पुनः जनकपुर फर्किने छ। पूर्णिमाको बिहान जनकपुरको अन्तः गृह परिक्रमा गरी १५ दिने धार्मिक यात्रा सम्पन्न हुनेछ।

झण्डै सय वर्षदेखि सञ्चालित यो धार्मिक यात्रामा साधु सन्तसँगै सर्वसाधारणको पनि उल्लेख्य सहभागिता रहने गर्छ। नेपाल र भारतको सिमावर्ती क्षेत्रका प्रान्तबाट हजारौं श्रद्धालु धार्मिक यात्रामा सहभागी हुन आउँछन्।

मिथिला महात्म्यका अनुसार—मिथिलाको परिक्रमा गर्दा मनवाञ्छित फल प्राप्त हुन्छ। महात्म्यमा मिथिलाको परिक्रमा गरेर अनेकौ ऋषि मुनिले मोक्ष प्राप्त गरेको, ज्ञान आर्जन गरेको तथा रोगबाट मुक्ति पाएको उल्लेख छ। परिक्रमावासीहरुले नेपालमा १ सय ५ तथा भारतको २८ गरी १ सय ३३ किलोमिटरको यात्रा गर्छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.