२० फागुन, एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार वासिंगटनमा थप ४ जनाको मृत्यु भएको हो । सियाटल र किंग काउन्टी जनस्वास्थ्य विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनले सोमबार पत्रकार सम्मेलन गर्दै संक्रमणको दर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।
वासिंगटन राज्यमा मात्रै ६ जनाको मृत्यु भएको हो भने १८ जनामा संक्रमण भेटिएको छ । शनिबार पहिलो पटक कोभिड–१९ बाट अमेरिकामा मृत्यु भएपछि वासिंगटनका गभर्नर जे इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका थिए ।
सोमबार बिहानसम्म अमेरिकाका विभिन्न १० राज्यमा कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको छ । अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ ।
अमेरिकामा कोभिड–१९ संक्रमण बढ्दै गएपछि अतिप्रभाविकत मुलुकको यात्रा तथा विदेशीहरुको आगमनमा प्रतिबन्ध लगाइएको छ ।