२१ फागुन, विराटनगर ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि केन्द्रीय लगायत तीनै तहका सरकार यसको सचेतना र भविष्यमा आइपर्ने जोखिम कम गर्न लागिपरेका छन् । प्रदेश १ सरकारले पनि कोरोना भाइरस संक्रमितलाई उपचार गर्न २८ शैय्याको आइसोलेसन वार्ड तयार गरेको छ । संक्रमणको आशंका गरिएकालाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनस्थलको पनि खोजी गरिएको छ ।
आशंकित बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा २८ शैय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा. शुरेश मेहताका अनुसार प्रदेशका ठूला अस्पतालमा २८ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको हो । विराटनगरस्थित विराट मेडिकल कलेजमा सबै भन्दा बढी १२ वटा आइसोलेसन वार्ड तयार भएको छ । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अस्पतालमा ५ र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको आइसोलेसन वार्ड तयार गरिएको छ । विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज र मेची अस्पतालमा आइसोलेसन वार्डको तयारी गरिएको छ । कोरोना भाइरसको रोकथाम गर्न आवश्यक तयारीमा प्रदेश सरकार जुटेको डा मेहताले बताए ।
प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ । त्यसैगरी कोशी अस्पतालमा प्रदेश आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । कोरोनाको संक्रमणको सावधानी अपनाउन प्रदेश १ सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । टास्क फोर्समा ९ सदस्यीय रहेको छ । छिमेकी मुलुक भारत सहित करोना संक्रमण अरु देशमा झन् तीव्र गतिमा फैलिएको भन्दै निर्देशक मेहताले संक्रमणको जोखिमलाई न्युनीकरणका उपायमा लाग्ने विधि तर्फ फोर्स केन्द्रित हुने बताए । उनले प्रदेशमा सम्भावित विरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकले लगाउने सामाग्री खरिद गर्नेलगायतका काम पनि अघि बढ्ने जानकारी दिए ।
विशेष प्रकारको हेलमेट, पञ्जा, मास्कलगायतका सामाग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयले बजेटसमेत माग गरिएको छ । कोरोना भित्रिन नदिन नेपालको पूर्वी सीमा नाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर झापाको भद्रपुरमा विषेश निगरानीको थालनी गरिएको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार यी नाकाबाट नेपाल भित्रिने विदेशी नागरिकलाई नाकामा विशेष निगरानी गरिने छ । त्यसका लागि स्वास्थ्यकर्मीसहितको टोली र त्यसको सहयोगका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
मन्त्री घिमिरेले प्रवेशद्वारबाट नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शंका लागेमा उनीहरुलाई आवश्यक स्वस्थ्य परीक्षण गरिने प्रबन्धसमेत मिलाइएको छ । यद्यपि अन्य कुनै स्थानमा विदेशी पर्यटक छन् कि छैनन् र उनीहरुको स्वास्थ्य कस्तो भनेर निरन्तर निगरानी गरिरहने व्यवस्था गरिएको छ ।